सीमा क्षेत्रको तनाव घटाउने चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदीबीच सहमति

एजेन्सी ।  दुई देशबीचको विवादास्पद सीमामा भइरहेको तनाव घटाउने चीनका राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सहमति भएको छ ।

’ब्रिक्स’ शिखर सम्मेलनमा दुई नेताबीच एक्लाएक्लै भएको भेटमा सीमा विवाद घटाउने सहमति भएको बीबीसी हिन्दीले जनाएको छ ।

विकासशील राष्ट्रहरूको समूह ’ब्रिक्स’ शिखर सम्मेलनमा भाग लिन दक्षिण अफ्रिका गएका दुई नेताबीच भारतीय प्रधानमन्त्रीको अनुरोधमा चिनियाँ राष्ट्रपति सीले भेटावार्ता गर्नुभएको चिनियाँ पक्षले जनाएको छ ।

सीमामा उत्पन्न तनावका कारण तीन वर्षदेखि भारत र चीनबीच सम्बन्ध बिग्रिएको छ । दुई नेताबीचको भेटमा एलएसीबाट सैनिकहरू हटाउने सहमति भएको भारतका विदेश सचिव विनयमोहन क्वात्रालाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयले विज्ञप्ति निकालेर सीमाबारेमा विस्तृतमा छलफल भएको र यो छलफलले समस्या समाधानमा स्पष्ट भूमिका खेल्ने बताएको छ ।

सी आउँदो महिना जी–२० शिखर सम्मेलनमा भाग लिन भारत जाने तयारी छ । जी–२० शिखर सम्मेलन आउँदो सेप्टेम्बर ९ र १० तारिखमा दिल्लीमा हुँदैछ ।