जारी महिला टी–२० शृङ्खलामा नेपालद्धारा कुवेत ३४ रनले पराजित

काठमाण्डौ ।  जारी महिला टी–२० शृङ्खलामा नेपालले कुवेतलाई ३४ रनले हराएको छ ।

मलेसियाको वायुमास ओभलमा आज भएको खेलमा नेपालले दिएको ९० रनको सामान्य लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ५५ रनमात्रै बनाएको हो ।

कुवेतका लागि जीफा जिलानीले सर्वाधिक ११ रन बनाइन् । बलिङतर्फ नेपालकी इन्दु बर्माले ३, खुशी डङ्गोलले २ तथा कविता कुँवर, सीता राना मगर र ईश्वरी विष्टले १/१ विकेट लिइन् ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८९ रन बनाएको थियो । नेपालका लागि इन्दु बर्माले सर्वाधिक २३ रन बनाइन् । बलिङतर्फ कुवेतकी मारिमा हेडरले ४ विकेट लिइन् ।

४ देश सम्मिलित टी–२० शृङ्खला शनिवारसम्म चल्नेछ । शृङ्खलामा नेपालसहित घरेलु टोली मलेसिया, कुवेत र हङकङले खेल्दैछन् ।

नेपालले भोलि बिहीवार घरेलु टोली मलेसियासँग खेल्नेछ । राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । फाइनल खेल शनिवार हुनेछ । थप दुई टोलीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।