सुन तस्करीबारे छानबिन गर्न अर्को महिना आयोग बन्ने : सीआईबीको अनुसन्धान जारी रहने
काठमाण्डौ । सुन तस्करी प्रकरणको छानबिन गर्न आयोग बनाउने विषयमा दलहरूबीच सहमति भएको छ । साथै संसदमा भइरहेको अवरोध हटाउनका लागि दलहरूबीच दुई बुँदे सहमति भएको हो ।
आज (बुधवार) भएको सहमतिअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको साढे ६१ किलो सुनको बारेमा अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नै अनुसन्धान गर्ने सहमति भएको छ । तर साढे ६१ किलो सुनसहित अहिलेसम्म भएका सबै सुन तस्करीको छानबिन गर्न आउँदो असोजको ५ गते एक छानबिन आयोग बनाउने दलहरूले सहमति गरेका छन् ।
विद्युतीय चुरोट अर्थात् ’भेप’ मा लुकाएर तस्करी भएको सुनको विषयमा पनि आयोगले नै अनुसन्धान गर्नेछ । सहमतिमा ठ्याक्कै उल्लेख नगरे पनि माओवादीका नेता कृष्णबहादुर महराका बाबुछोराको संलग्नताबारे पनि अब आयोगले नै अनुसन्धान गर्ने भएको छ ।
आयोगले सुन तस्करीजन्य कार्यको पूर्ण नियन्त्रणका लागि कानुनमा गर्नुपर्ने परिमार्जन, संरचनागत सुधार र पटक पटकको सुन तस्करीबारे भएका छानबिन र अनुसन्धानबारे समेत अध्ययन गरेर सुझाव दिने दलहरूले सहमति गरेका छन् ।
सहमतिमा दलका प्रमुख सचेतकहरू रमेश लेखक, पदम गिरी, हितराज पाण्डे, सन्तोष परियार, ज्ञानबहादुर शाही, प्रदीप यादव र अब्दुल खानले हस्ताक्षर गर्नुभएको छ ।
आज दलहरूबीच सहमति भएसँगै दिउँसो बोलाइएको प्रतिनिधिसभाको बैठकमा एमालेले अवरोध हटाउने भएको छ । उच्चस्तरीय आयोग गठनको माग गर्दै एमालेले १० साउनदेखि संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।