एनओसी नलिकन भारतीय सीमा नाकाका शिक्षालयमा नर्सिङ पढ्न गए मान्यता नपाउने

काठमाण्डौ । वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) नलिकन भारतको सीमा क्षेत्रमा नर्सिङ पढ्न गएका नेपाली विद्यार्थीहरुको शैक्षिक प्रमाणपत्रले मान्यता नपाउने भएका छन् ।

भारतको सीमा क्षेत्रमा सञ्चालित शिक्षालयमा अध्ययन गर्ने नेपाली नर्सिङ विद्यार्थीहरुको शैक्षिक प्रमाणपत्रले मान्यता नपाउने चिकित्सा शिक्षा आयोगका सदस्यसचिव कृष्णप्रसाद काप्रीले बताउनु भएको छ ।

साथै उहाँले भारतीय सीमा क्षेत्रमा नर्सिङ पढ्न जाने नेपाली विद्यार्थीले अनिवार्य एनओसी लिएर मात्रै जानुपर्ने बताउनुभयो । उहाँले त्यसका लागि संवद्ध निकायले सूचना जारी गर्नुपर्ने समेत बताउनुभएको छ ।

शिक्षा पत्रकार सञ्जालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै काप्रीले भारतीय सीमामा नर्सिङ कलेज खुलेको बारेमा कसले अनुसन्धान गरेको छ ? भन्दै प्रश्न गर्नुभयो । उहाँले देश बाहिर अध्ययन गर्न कति विद्यार्थी गएका छन् भन्ने बारेमा अध्ययन गर्न जरुरी रहेको बताउनुभयो । उहाँले नियमनकारी निकायको प्रभवकारीता नदेखिँदा अभिभावक र विद्यार्थीहरु अन्योलमा परेको बताउनुभयो ।

यस्तै प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभीटी) का उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले चिकित्सा शिक्षा अयोगले समन्वय नगर्दा समस्या निम्तिएको बताउनुभयो । उहाँले भारत सरकारले १ सय ५७ वटा नर्सिङ कलेज खोल्ने निर्णय गरेको भन्दै ती मध्ये अधिकांश बोर्डरमा कलेज स्थापना भएको बताउनुभयो ।

कार्यक्रममा चिकित्सा शिक्षा सरोकार संघर्ष समितिका अध्यक्ष निर्मल सापकोटाले स्तरोन्नतिको मापदण्डमा आशयपत्र भन्ने व्यवस्था नै नरहेको बताउनुभयो । उहाँले २० वर्षदेखि सञ्चालनमा रहेका पुराना शिक्षण संस्थाहरुलाई राज्यले पेल्न खोजेको बताउनुभयो ।

चिकित्सा शिक्षा आयोग र सिटिइभिटीबीच प्रभावकारी समन्वय नहुँदा र क्षेत्राधिकार बाँडफाँटमा टकराव हुँदा नर्सिङ शिक्षामा समस्या सिर्जना भएको छ ।