महिला टी–२० शृङ्खलामा नेपालद्वारा हङकङ ६ विकेटले पराजित

काठमाण्डौ । महिला टी–२० शृङ्खलामा नेपालसँग हङकङ ६ विकेटले पराजित भएको छ ।

आज (मङ्गलवार) मलेसियाको वायुमास ओभलमा भएको खेलमा हङकङले दिएको ८५ रनको सामान्य लक्ष्य नेपालले १५ ओभर ५ बलमा ४ विकेट गुमाएर भेटाएको हो ।

नेपालका लागि सम्झना खड्काले नटआउट ३६ र पूजा महतोले १६ रन बनाइन् । बलिङतर्फ हङकङकी इक्रा सहर, मारिको हिल, मारयम बिबी र केरी चानले १/१ विकेट लिइन् ।

पहिले टस हारेर ब्याटिङको निम्तो पाएको हङकङ १९ ओभर १ बलमा ८५ रन बनाउँदा अलआउट भएको थियो । हङकङका लागि केरी चानले ३४ र डोरोथिया चानले १६ रन बनाइन् । बलिङतर्फ नेपालकी सीता राना मगरले ५ विकेट लिइन् । उनले ४ ओभरमा १६ रन दिँदै ५ विकेट लिइन् । यस्तै इन्दु बर्माले २ विकेट लिइन् ।

४ देश सम्मिलित यस प्रतियोगिता शनिवारसम्म हुने छ । शृङ्खलामा नेपालसहित घरेलु टोली मलेसिया, कुवेत र हङकङले खेल्दैछन् ।
नेपालले भोलि कुवेतसँग र बिहीवार घरेलु टोली मलेसियासँग खेल्नेछ ।

राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । फाइनल खेल शनिवार हुनेछ । थप दुई टोलीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।