महिला टी–२० शृङ्खलामा नेपालले आज हङकङसँग खेल्दै

काठमाण्डौ । महिला टी–२० शृङ्खलामा नेपालले आज हङकङसँग खेल्दैछ ।

यो खेल नेपाली समय अनुसार बिहान पौने १२ बजे शूरु हुने छ । मलेसियाको वायुमास ओभलमा ४ देश सम्मिलित टी–२० शृङ्खला हुन लागेको हो । शनिवारसम्म हुने शृङ्खलामा नेपालसहित घरेलु टोली मलेसिया, कुवेत र हङकङले खेल्दैछन् ।

यस्तै नेपालले भोलि कुवेतसँग र बिहीवार घरेलु टोली मलेसियासँग खेल्नेछ । राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । फाइनल खेल शनिवार हुनेछ । थप दुई टोलीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।

यो शृङ्खलाका लागि नेपालले रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको थियो । यसपछि नेपाली टोलीले आईसीसी विश्व कप एसिया छनोट खेल्नेछ ।

अगष्ट ३१ देखि सेप्टेम्बर ९ तारिखसम्म मलेसियामा हुने एसिया क्षेत्र छनोटमा नेपालको समूह रहेको ‘ए’ मा यूएई, कतार, मलेसिया, भुटान र बहराइन छन् । समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार एसिया छनोटअघि अगष्ट २८ मा थाइल्यान्डसँग नेपालले अभ्यास खेल खेल्नेछ ।