‘ललिता निवास प्रकरणमा सीआइबीलाई सत्यतथ्य जानकारी दिएर आफ्नो कर्तव्य निर्वाह गरेको छु !’ : डा. बाबुराम भट्टराई
काठमाण्डौ । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले ललिता निवास जग्गा प्रकरणमा आफ्नो संलग्नताबारे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई बयान दिएको जानकारी दिनुभएको छ । सामाजिक सञ्जाल ट्वीटरमार्फत् उहाँले ललिता निवास प्रकरणबारे सीआईबीका अधिकारीहरूलाई बयान दिएको बताउनु भएको हो ।
भट्टराईले लेख्नुभएको छ , ‘ललिता निवास प्रकरणमा मेरो पालाको मन्त्रीपरिषदको निर्णय सम्बन्धमा उठेका प्रश्नहरूवारे सत्यतथ्यको जानकारी मेरो शुरूदेखिको सार्वजनिक प्रतिबद्धता बमोजिम केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) लाई दिएर आफ्नो कर्तव्य निर्वाह गरेको छु ! यो मुद्दा सफल टुंगोमा पुगेर देशमा सबै तहका सबै प्रकारका भ्रष्टाचार तथा अनियमितता अन्त्य गर्न र सुशासनको प्रत्याभूति गर्न गराउन एउटा दरो प्रस्थानविन्दू बनोस् भन्ने कामना गर्दछु ।’
सीआईबीले बालुवाटारमा रहेको ललिता निवास जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग बयान नलिएको भन्दै आलोचना भएपछि हिजो (आइतबार) बेलुका बयान लिएको हो ।