स्पेन बन्यो पहिलो पटक महिला विश्वकपको च्याम्पियन

काठमाण्डौ । फिफा महिला विश्वकप फुटबल २०२३ को नवौँ संस्करणमा इङ्ग्ल्यान्डलाई हराउँदै स्पेनले उपाधि जितेको छ ।

आज (आइतवार) स्टेडियम अस्ट्रेलियामा भएको फाइनलमा स्पेनले इङ्ग्ल्यान्डलाई १–० गोलले हराएको हो । स्पेनका लागि ओल्गा कारमोनाले खेलको २९ औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । स्पेनले एउटा पेनाल्टी पनि पाएको थियो तर गोल गर्न भने सकेन । खेलको ७० औं मिनेटमा जेनिफर हर्मोसोले पेनाल्टी मिस गरेपछि स्पेनले खेलमा अग्रता दोब्बर बनाउने मौका गुमाएको थियो । स्पेन महिला विश्वकपमा पहिलो पटक च्याम्पियन बनेको हो ।

इङ्ग्ल्यान्ड आयोजक अस्ट्रेलियालाई हराउँदै र स्पेन स्विडेनलाई हराउँदै पहिलो पटक फाइनलमा पुगेका थिए । हिजो (शनिवार) तेस्रो स्थानका लागि भएको खेलमा आयोजक अस्ट्रेलियालाई २–० गोलले हराउँदै स्विडेन तेस्रो भएको छ ।

अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रूपमा आयोजना गरेको यो महिला विश्वकपमा ३२ टोली सहभागी थिए । स्पेन महिला फुटबल विश्वकप जित्ने पाँचौँ टिम बनेको छ । यसअघि अमेरिकाले सबैभन्दा धेरै ४ पटक, जर्मनीले २ पटक तथा नर्वे र जापानले १÷१ पटक जितेका छन् ।