प्रतिनिधिसभा बैठक बस्दै : उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने एमालेको माग कायमै
काठमाण्डौ । आज आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ ।
आज बस्ने बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ ।
संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद (सचिव) टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन् । साथै, सांसद सुनिल शर्मा पक्राउ र रिहाका बारेमा पनि संसदमा जानकारी गराइनेछ ।
त्यस्तै, बाधा अड्काऊ फुकाऊ आदेश पेश गर्ने सिलसिलामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोग २०७१ को दफा ४२ को उपदफा २ बमोजिम आयोगको कार्यविधि थप गर्ने प्रस्ताव पेश गर्नेछन् ।
साथै शिक्षा मन्त्री अशोककुमार राईले राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० लाई बफादार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेश गर्नेछन् भने सभामुखले १० वा सो भन्दा बडी बैठकमा अनुपस्थित सांसदहरूको सूचनाहरू सभाको स्वीकृतिका लागि पेश गर्ने कार्यसूची रहेको छ ।
विषयगत समितिको सदस्य हेरफेर देखी १० पटकसम्म बैठकमा अनुपस्थित सांसदहरूको नामावली वाचन गरेर सुनाइने छ भने संसदीय समितिका सदस्यहरूको नामावली हेरफेरको सूचना पनि जानकारी गराइनेछ ।
गत साउन १० गते यता म्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका कारण बैठक नियमित कार्यसूचिमा प्रवेश गर्न सकेको छैन ।सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद बैठक अवरुद्ध गर्दै आएको छ ।