सुन प्रकरणमा मेरो परिवारको संलग्नता छैन : ईश्वर पोखरेल
काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सुन तस्करी प्रकरणमा आफ्नो परिवारको नाम जोडिएपछि आपत्ति जनाउनु भएको छ ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले सुन तस्करी आरोपमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङले ईश्वर पोखरेलका छोरा स्वराज पोखरेल र उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक थापासँग मिलेर विगतदेखि व्यवसाय गरिरहेको बयान दिएको विषय बाहिरिएपछि आपत्ति जनाउनु भएको हो ।
आज शुक्रबार वक्तव्य जारी गर्दै पत्रकारिता पेशाको सामान्य मर्यादा पनि नराखी नियोजित रूपमा आफ्नो परिवारलाई जोडेर लेखेको समाचार शतप्रतिशत झुटो भएको भन्दै आपत्ति जनाउनु भएको छ ।
उहाँले माओवादी नेताको लगानी रहेको नेपाल खबर नामक अनलाइनले पत्रकारिता पेशाको सामान्य मर्यादा पनि नराखी नियोजित रूपमा आफ्नो परिवारलाई जोडेर लेखेको शतप्रतिशत झुटो समाचारको घोर निन्दा, भर्त्सना र खण्डन गर्न चाहेको बताउनु भएको छ ।
माओवादीका उपमहासचिवको लगानी रहेको र कतिपय लगानीकर्ताको लगानी समेत ठगी गरेको भनेर यसअघि नै विवादित त्यस अनलाइनले सरकारी कारखानामा तयार पारिएको समाचार प्रकाशित गरेर मालिकको सेवा गरेको प्रष्टै भएको उपाध्यक्ष पोखरेलले भन्नु भएको छ ।
साथै उहाँले यस्ता कुराबाट भ्रमित नहुन शुभेच्छुक र पार्टी पंक्तिलाई आह्वान समेत गर्नु भएको छ । यस सम्बन्धमा कानुनी कारबाही पनि अगाडि बढाउने उहाँले भन्नु भएको छ ।