संसद्को अवरोध हटाउने विषयमा प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच छलफल

काठमाण्डौ ।  संसद्को अवरोध हटाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ ।

सभामुखको निजी सचिवालयका अनुसार सत्तापक्ष र प्रतिपक्षले गम्भीरतापूर्वक छलफल गरेर सहमति गरी संसद् खुलाउन सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराउनु भएको छ ।

आज बिहान बालुवाटारमा भएको छलफलमा सभामुख घिमिरेले संसद् नखुल्दा बाढी पहिरोलगायत प्रकोपका रुपमा फैलिएका रोगका सङ्क्रमणका विषयमा बहस हुन नपाएको बताउनुभयो ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले संसद् खुलाउने विषयमा प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कुराकानी गर्ने बताउनु भएको सभामुखको निजी सचिवालयले जनाएको छ ।

एमालेले तस्करी भएको सुनको उच्चस्तरीय समिति बनाएर छानबिनको माग गर्दै १० गतेदेखि संसद् अवरूद्ध गर्दै आएको छ । सरकारले भने अनुसन्धानका लागि उच्चस्तरीय समितिको आवश्यकता नरहेको जनाएको छ । गएको ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिबाट ब्रेक शुभित्र लुकाएर ल्याएको सुन बरामद भएको थियो ।

यसैबिच, ६० किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा सीबीआईले आज थप २ जना चिनियाँ नागरिक पक्राउ गरको छ । यो सँगै हालसम्म २३ जना पक्राउ परेका छन् ।

राजश्व अनुसन्धान विभागले गएको साउन ३ मा भन्सार जाँचपासबाट बाहिरिएको सुनसहितको एक सय ५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । अहिले यस विषयका सीबीआईले खनुसन्धान गरिरहेको छ ।