मौसम खबर : देशको पहाडी भूभागको केही स्थानहरूमा मध्यम वर्षा

काठमाण्डौ । हाल गण्डकी र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशको पहाडी भूभागको केही स्थानहरूमा र बाँकी भूभागको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले बताउनु भएको छ ।

उहाँका अनुसार गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । यस्तै कोसी, मधेस र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको भनाई छ ।

यस्तै आज राती भने कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै कोसी र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।