झन्डै ५ प्रतिशतले बढ्यो सार्वजनिक गाडीको भाडा
काठमाण्डौ । झन्डै ५ प्रतिशतले सार्वजनिक गाडीको भाडा बढेको छ ।
अन्तर प्रदेश सार्वजनिक यातायातमा यात्रुवाहक र मालवाहक गाडीको भाडादर बढाएको यातायात व्यवस्था विभागले जनाएको छ ।
नेपाल आयल निगमले हिजो मङ्गलवार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर १४ रुपैयाँ बढाएको थियो ।
जस अनुरुप भाडादर पनि बढेको हो । नयाँ भाडादरअनुसार अब यात्रुवाहक गाडीको भाडा चार दशमलव ७० प्रतिशतले बढेको छ ।
पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीको भाडा ६ दशमलव १५ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीको भाडा ६ दशमलव ८३ प्रतिशतले बढेको हो ।
बढेको भाडादर आजैदेखि लागू भएको छ । विभागका अनुसार यो भाडा दुई वा दुईभन्दा बढी प्रदेश अथवा राष्ट्रियस्तरमा सञ्चालन हुने सार्वजनिक गाडीमा मात्र लागू हुने भएको छ ।