प्रतिनिधि सभा विघटन नगरेको भए देशको वामपन्थी आन्दोलन ध्वस्त हुने : अध्यक्ष ओलि
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्नका लागि आफूले प्रतिनिधि सभा विघटन गरेको बताउनुभएको हो ।
उहाँले प्रतिनिधि सभा विघटन नगरेको भए देशको वामपन्थी आन्दोलन ध्वस्त हुने बताउनुभयो । आज मंगलबार एमाले बागमती प्रदेश कमिटीलाई प्रशिक्षण दिने क्रममा अध्यक्ष ओलीले प्रतिनिधि सभा विघटनपछि पार्टीको सदस्यबाटै निकालिएका आफूहरुले संगठन बिस्तार र सुदृढ गरेर मजबुत र प्रमुख पार्टीको रुपमा पुनःस्थापित गरी प्रतिनिधि सभामा प्रवेश गरेको बताउनुभयो ।
यस्तै ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालप्रति कटाक्ष गर्दै ‘दक्षिणपन्थी झोले’को संज्ञा दिनु भएको छ । ओलीले वामपन्थी देखिएर दक्षिणपन्थीको झोला बोकेर कुदिरहेकाहरुलाई ‘झोले’ भन्ने गरेको बताउनु भएको हो ।
अध्यक्ष ओलीले नेता नेपालले एमालेमै हुँदा पनि वामपन्थी दुई तिहाइको सरकार ढाल्नको लागि दक्षिणपन्थी सरकार बनाउनको लागि भोट हालेको बताउनु भएको हो ।
अध्यक्ष ओलीले पार्टीका नेता, कार्यकर्ताहरु कहिलेकाहीँ राजनीतिक अलमलमा पर्ने गरेको भन्दै त्यसरी अलमलमा नपर्न आग्रह पनि गर्नुभयो ।