रुसको एउटा पेट्रोल पम्पमा विस्फोट : कम्तीमा १२ जनाको ज्यान गयो
एजेन्सी । रुसको दक्षिणी क्षेत्र डागेस्तानको एउटा पेट्रोल पम्पमा विस्फोट भएको छ ।
उक्त विस्फोटमा परि कम्तीमा १२ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । घटनामा ६० जनाभन्दा धेरै घाइते भएका छन् ।
ज्यान गुमाउनेमा केही बालबालिका समेत रहेका छन् । ज्यान गुमाउनेको सङ्ख्या २५ जनाभन्दा धेरै हुन सक्ने अनुमान गरिएको छ । तर आधिकारिक पुष्टि हुन नसकेको बीबीसीले जनाएको छ । आगोमा जलेर गम्भीर घाइते भएकाहरूलाई उपचारका लागि राजधानी मस्को लगिएको छ ।
विस्फोटपछि पेट्रोल पम्पमा आगलागी भएको थियो । क्यास्पियन सागरको तटमा रहेको क्षेत्रीय राजधानी मखाच्कला सहरमा भएको विस्फोटको कारण अहिलेसम्म खुल्न सकेको छैन । सयौँको सङ्ख्यामा अग्नि नियन्त्रक परिचालन गरी आगो नियन्त्रणमा लिइएको छ ।
त्यहाँ झण्डै २ सय ६० जना आपत्कालीन कर्मचारीलाई परिचालन गरिएको छ । आगो ६ सय वर्गमिटर क्षेत्रमा फैलिएको छ । मखाच्कला मस्कोबाट झण्डै १६ सय किलोमिटर टाढा पर्छ ।