एमालेको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित

काठमाण्डौ ।  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सुन प्रकरण छानबिनको लागि उच्च स्तरिय छानबिन समिति गठन गर्नु पर्ने आफ्नो माग कायमै राखेको छ ।

आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा पनि एमालेले उच्च स्तरिय छानबिन समिति गठन गर्नु पर्ने भन्दै नाराबाजि गरेको हो ।
सुन प्रकरणमा उच्च स्तरिय छानबिन समिति गठन गर्न माग गर्दै एमालेले निरन्तर संसद अवरोध गर्दै आएको छ ।

आज बैठक शुरु हुनेबित्तिकै बोल्दै कांग्रेसका सांसद सुनील शर्माले राज्यले आफूलाई आतङ्ककारी शैलीमा पक्राउ गरेको भनेर विरोध जनाउनुभएको थियो । उहाँको यो भनाइबारे माओवादीका सांसदले आपत्ति जनाएका हुन् ।

त्यसपछि सभाको बैठकमा एमालेले नाराबाजी गरेपछि भदौ ३ गते १ बजेसम्मको लागि बैठक स्थगित भएको सभामुख देवराज घिमिरे जानकारी गराउनु भएको हो ।

एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको सुनको बारेमा अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समितिको माग गरेर यही साउन ९ गतेदेखि प्रतिनिधि सभाको बैठकमा आफ्नो अडान जारी राख्दै आएको छ ।