प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी आह्वान : १० दिनभित्र उजुरी गर्न सकिने

काठमाण्डौ । संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ प्रक्रिया सुरु गरेको  छ ।

 

आज (मंगलबार) सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले श्रेष्ठविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो । साथै प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइबारे सर्वसाधारणलाई जानकारी गराउने निर्णय पनि गरिएको छ ।

नाम अनुमोदनका सन्दर्भमा कुनै गुनासो वा उजुरी भए १० दिनभित्र उजुरी गर्न सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय गरेको समितिका ज्येष्ठ सदस्य पशुपतिशमशोर जबराले जानकारी दिनु भएको छ ।

यसअघि साउन १८ गते बसेको संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।

समितिले संसदीय सुनुवाइ प्रक्रिया पूरा गरी नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने व्यवस्था छ ।