प्रतिनिधिसभा बैठक दिउँसो ३ बजे बस्दै

काठमाण्डौ । प्रतिनिधिसभाको बैठक आज (मंगलबार) दिउँसो ३ बजे बस्दैछ ।

बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले सांसद टोपबहादुर रायमाझीको पद निलम्वमा परेको जानकारी सभामुख देवराज घिमिरेले गराउने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ ।

यस्तै, बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने कार्यसूची पनि रहेको छ । साथै बाधा अडकाऊ फुकाउ आदेश पेश गर्ने सिलसिलामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग २०७१ को दफा ४२ को उपदफा २ बमोजिम आयोगको कार्यबिधि थप गर्ने प्रस्ताव पेश गर्नेछन ।

यसैबिच, संसदको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेसहित तीन दलका शीर्ष नेतारुको बैठक बालुवाटारमा सुरू भएको छ । सय किलो सुन तस्करी प्रकरणमा विज्ञहरुसहितका उच्च स्तरीय छानविन समिति माग गर्दै एमालेले दुवै सदनका बैठकहरु अवरुद्ध गरिरहेको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टीका प्रमुख सचेतकहरू बैठकमा सहभागी छन् ।

संसदको अवरोध खुलाउन हिजो सभामुख देवराज घिमिरेले पनि शीर्ष नेताहरुसँग छलफल गर्नु भएको थियो ।