काठमाण्डौ उपत्यकाका सबैजसो नदी र खोलामा बाढी : सतर्कता अपनाउन आग्रह

काठमाण्डौ ।  काठमाण्डौ उपत्यकाका लगाएत देशका धेरै स्थानमा भारी वर्षा भएको छ ।

काठमाण्डौ उपत्यकाका सबैजसो नदी र खोलामा बाढी आएको छ । बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपासमा ठूलो पानी परेको छ । विष्णुमती, धोबिखोला, मनोहरालगायतमा नदीमा जलसतह बढ्दो छ ।

बाढी बढ्दो क्रममा रहेकाले बिहान ११ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । उपत्यकाका नदी तटीय क्षेत्र तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूलाई सतर्कता अपनाउन भनिएको छ ।

यस्तै, बर्दिया, बारा, सर्लाही, धनुषा, मकवानपुर, कास्की, बाँके, कैलाली, कन्चनपुरलगायतका जिल्लामा ठूलो पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मधेश, बागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । मधेश र बागमती प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

राती भने कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशहरुको केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै तथा मधेश तथा लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

 

मधेश, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना भएकोले नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू क्षय तथा हावाहुरी जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।