संसद्को अवरोध हटाउन सभामुखले आज पनि शीर्ष नेताहरूसँग छलफल गर्ने

काठमाण्डौ । प्रतिनिधि सभा बैठकमा भइरहेको अवरोध हटाउन सभामुख देवराज घिमिरेले दलका शीर्ष नेताहरूसँग छलफल गर्नुहुने भएको छ ।

सभामुख घिमिरेले आज संसद् बैठक बस्नुअघि दलका शीर्ष नेताहरूसँग छलफल गर्न लाग्नुभएको हो ।  आज मध्याह्न १२ः०० बजे संसद् बैठक बस्नुअघि उहाँले शीर्ष नेताहरुसँग छलफल गर्ने कार्यक्रम रहेको उहाँको निजी सचिवालयले जानकारी दिएको छ । प्रतिनिधिसभा बैठक दिउँसो १ः०० बजे बस्दै छ ।

सभामुख घिमिरेले हिजो पनि सदनको अवरोध हटाउने विषयमा दलका सचेतकहरूसँग छलफल गर्नुभएको थियो । तर, छलफलमा सत्तापक्ष र प्रतिपक्ष दुवैले सुन तस्करी प्रकरणका विषयमा आ–आफ्नो अडान कायम राखेपछि सहमति जुट्न सकेको थिएन ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै प्रमुख प्रतिपक्ष दल एमालेले  गएको साउन १० गतेदेखि संसद् बैठक अवरोध गर्दै आएको छ ।

सत्तापक्षीय दलहरुले भने सुन तस्करी काण्डको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समितिको आवश्यकता नभएको बताउदै आएका छन् ।