प्रधानमन्त्री दाहालको पछिल्लो भारत भ्रमण सत्ता स्वार्थमा मात्रै केन्द्रीत रह्यो : अध्यक्ष ओली
काडमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सत्ता स्वार्थमा मात्रै केन्द्रीत भएको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गर्नुभएको छ ।
पार्टीको परराष्ट्र मामिला विभागले आज (शनिबार) काठमाडौंमा आयोजना गरेको ‘वर्तमान अन्तराष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीति सम्बन्धि नेकपा (एमाले) को धारणा’ विषयक विचार गोष्ठीमा बोल्दै ओलीले प्रधानमन्त्री दाहालको भारत भ्रमणमा राष्ट्रिय स्वार्थ प्रधान नभई सत्तास्वार्थ मात्रै प्रधान भएको दाबी गर्नुभएको हो ।
साथै उहाँले नेपाली आवश्यक्ता, नेपाली हीत, नेपालको न्यायोचित पक्षमा हुनुपर्ने कुराहरुमा प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणमा धेरै कमजोरीहरुको देखाएको जिकिर गर्नुभयो । अध्यक्ष ओलीले इपीजी प्रतिवेदन र नेपालको भूमिबारे समेत प्रधानमन्त्री दाहालले भारतीय पक्षसँग कुनै कुरा गर्न नसकेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।
अध्यक्ष ओलीले भारत र चीन दुई मित्र राष्ट्रहरु भएकाले उनीहरुसँग खुलस्त कुरा राखेर मात्रै आपसी समस्यालाई समाधान गर्न सकिने बताउनुभयो । उहाँले आफ्ना जायज मागहरु पनि छिमेकीसँग राख्न नसक्ने हो भने त्यस्तो खालको सरकार र सत्ताको कुनै अर्थ नहुने पनि दोहोर्याउनु भयो ।