पाकिस्तानका पूर्व प्रधानमन्त्री खानलाई तीन वर्ष कैद सजाय : खान घरबाटै पक्राउ

एजेन्सी । पाकिस्तानको इस्लामाबादमा रहेको एउटा अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई दोषी प्रमाणित गरेको छ ।

बीबीसी हिन्दीका अनुसार खानले राज्यका उपहारहरू बिक्री गर्दा प्राप्त भएको आम्दानी घोषणा नगरेकोमा खानलाई अदालतले दोषी प्रमाणित गरेको हो । साथै खानलाई भ्रष्टाचारको मुद्दामा तीन वर्षको जेल सजाय समेत सुनाएको छ । अदालतले खानलाई एक लाख रुपैयाँ जरिबाना पनि तोकेको छ ।

खानले भने आफूमाथिका आरोप अस्वीकार गर्दै आउनुएको छ । अदालतले खानका वकिललाई १२ बजेसम्म उपस्थित हुन समय दिएको थियो । तर इमरान खानका वकिल अनुपस्थित रहेका थिए ।  त्यसपछि अदालतले आफ्नो निर्णय सुनाएको बीबीसी हिन्दीले जनाएको छ ।

यसैबिच, खाने लाहोरमा रहेको आफ्नै घरबाट पक्राउ परिसक्नुभएको खानका वकिल इन्तजार हुसैनले बताएको रोयटर्सले जनाएको छ । खानको समूहले निर्णय विरुद्ध पुनरावेदन गर्ने जनाएको छ ।