जबजको रक्षा गर्ने हो भने पार्टी भित्रको विकृतिअन्त्य गरी अघि बढ्नुपर्छ : शाक्य
काठमाण्डौ । मदन भण्डारी फाउण्डेसनले आज जननेता मदन भण्डारीको व्यक्तित्व, योगदान, शैली, दृष्टिकोण, व्यवहारलगायतका विषयमा अन्तरक्रिया गरेको छ ।
फाउण्डेसनले नियमितरुपमा सञ्चालन गर्दै आएको ‘मदन भण्डारी छलफल श्रृङ्खला–८’ आज (शुक्रबार) गौशलास्थित केन्द्रीय कार्यलयमा आयोजना भएको हो ।
आजको छलफल छलफल श्रृङ्खलामा जननेता मदन भण्डारीसँग सहकार्य गर्नुभएका पूर्वमन्त्री एवम् नेपाली वामपन्थी आन्दोलनका अग्रज नेतृत्वकर्ता गोपाल शाक्य प्रमुख वक्ताको रुपमा उपस्थित हुनुभएको थियो ।
तुल्सीलाल अमात्य प्रतिष्ठानका अध्यक्ष समेत रहनु भएका शाक्य सुरुवातदेखिनै नेपाली कम्यूनिष्ट आन्दोलनलाई एकतावद्ध गर्ने प्रकृयामा मदन भण्डारीसँग सहकार्य गर्ने व्यक्ति हुनुहुन्छ ।
उक्त छलफल श्रृङ्खलामा मदन भण्डारीलाई समकालीन नेताहरुले मार्गदर्शकका रुपमा लिने गरेको स्मरण उहाँले सुनाउनु भयो। मदन भण्डारीसँग भारतमा भएको पहिलो भेटघाटलाई स्मरणगर्दै सोही बखतदेखि आफू उहाँको विचारबाट प्रभावित भएको र पछि गएर जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्त निर्माणका क्रममा पनि सहकार्य भएको शाक्यले उल्लेख गर्नुभयो ।
संगठनात्मक सुधारका लागि मदन भण्डारीको विचार तथा उहाँले तयार पार्नुभएको मस्यौदा सरल, सिर्जनात्मक र दुरदृष्टि रहेको शाक्यले स्मरण गर्नुभयो ।
“मदन भण्डारी आफ्नो सिर्जनशीलता, अध्ययनशीलता र संगठन कौशलताका कारण महासचिव हुनुभएको हो ।” शाक्यले जननेता भण्डारीका बारेमा आफ्नो धारणा राख्नु भयो ।
छलफल श्रृङ्खलामा आफ्नो अनुभव सुनाउँदै मदन भण्डारी जत्तिको कुशल वक्ता नेपालमा कमै जन्मिएको शाक्यले दावी गर्नु भयो । नेपाल कम्यूनिष्ट पार्टीको सिद्धान्त मध्ये सामूहिक नेतृत्व पनि रहनुपर्छ भन्दै मदन भण्डारीले त्यसमा जोड दिनुभएको प्रमुख वक्ता शाक्यले बताउनुभयो ।
जबजको सिद्धान्तलाई अहिलेको नेता, कार्यकर्ता तथा युवाहरुले व्यवहारमा लागू गर्न अपरिहार्य रहेको उहाँको भनाइ छ । “मदन भण्डारीको योगदान कम्यूनिष्ट सिद्धान्त निर्धारण गर्ने, कम्यूनिष्ट पार्टी चलाउने मात्र होइन, नेपाल राष्ट्रको रक्षा गर्ने, नेपालराष्ट्रको संसद सम्पन्न बनाउनेमा पनि छ । सार्वभौमसत्ता तब मात्रै बलियो हुन सक्छ भन्दै मदन भण्डारीले जोड दिनुहुन्थ्यो ।
“मदन भण्डारीले समृद्ध नेपालका लागि आत्मनिर्भर अर्थतन्त्रको बाटो देखाउनुभयो । सही शिक्षानीति र सही स्वास्थ्यनीति अप्नाएर त्यो बाटो हिँड्यो भने मात्रै हामी समाजवादको बाटोतर्फ हिँड्न सकिन्छ ।” पूर्वमन्त्री शाक्यले मदनका शिद्दान्त र नीतिको सार सुनाउँदै भन्नु भयो ।
“मदन भण्डारीद्वारा प्रतिपादित ‘जबज’ को रक्षा गर्ने हो भने पार्टी भित्रको विकृति, विसङ्गतीलाई अन्त्य गरी पार्टी नेतृत्वले आलोचनालाई स्वीकार गरी अघि बढ्नुपर्छ। ” शाक्यले आफ्नो सुझाव राख्दै भन्नुभयो ।
उहाँले संगठनात्मक सिद्धान्तमा अल्पमतले बहुमतलाई मान्ने र बहुमतले अल्पमतको कदर गर्ने कुरामा मदन भण्डारीले त्यसलाई व्यवहारमा बदलेर पार्टीलाई व्यवस्थित बनाउन विशिष्ट योगदान पुर्याउनु भएको उल्लेख गर्नुभयो ।
यसअघि ७ वटा श्रृखलामा जननेता मदन भण्डारीसँग सहकार्य गर्नुभएका विभिन्न व्यक्तिहरुलाई निमन्त्रणा गरिएको छलफल श्रृङ्खलाका सञ्चालक मिलन धरेलले बताउनुभयो । छलफल श्रृङ्खलामा मदन भण्डारीका विभिन्न आयामबारे सुन्न विभिन्न पेशा, क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
मदन भण्डारीको व्यक्तित्व तथा विभिन्न आयामहरुलाई उजागर गरी नयाँपुस्तालाई कसरी प्रेरित गर्न सकिन्छ भनेर फाउण्डेसनले यस्ता छलफलहरु सञ्चालन गर्दै जाने कार्यक्रममा जानकारी गराइएको थियो ।