सुन तस्करी छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक छैन : सञ्चारमन्त्री रेखा शर्मा
काठमाण्डौ । सरकार अनियमिता, भ्रष्टाचार, बेथिति, तस्करी नियन्त्रणमा दृढतापूर्वक अगाडि बढिरहेको सञ्चारमन्त्री रेखा शर्माले बताउनु भएको छ ।
आज (बिहीवार) मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री रेखा शर्माले यस्तो बताउनु भएको हो ।
साथै उहाँले सुन तस्करी सम्बन्धमा राजस्व अनुसन्धान विभागबाट छानबिन भइरहेकाले उच्चस्तरीय समिति आवश्यक नभएको पनि स्पष्ट पार्नुभएको छ ।
सरकारका प्रवक्तासमेत रहनुभएकी मन्त्री शर्माले विभागले गरेको अनुसन्धानमा आशङ्का नगर्न आग्रह गर्नुभएको छ ।
मन्त्री शर्माले विभागले गरिरहेको अनुन्धानलाई निष्कर्षमा पुग्न दिन आग्रह गर्नुभयो । यही प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिन समितिको माग गर्दै सङ्घीय संसदमा गरिरहेको अवरोध हटाउने विषयमा समेत कुराकानी भइरहेको उल्लेख गर्दै उहाँले छिट्टै सदनमा देखिएको अवरोध हट्नेमा विश्वास व्यक्त गर्नुभयो ।
विभागले यही साउन ३ गते विमानस्थल भन्सारबाट बाहिरिएको अवस्थामा झन्डै एक सय किलो सुन बरामद गरेको थियो । विभागले त्यस प्रकरणमा संलग्न भएको आशङ्कामा १८ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।