नेकपा माओवादी केन्द्रद्वारा केन्द्रीय सदस्य थप गर्न विधान शंसोधन, २४ जना महिला थप्ने अध्यक्ष प्रचण्डको प्रस्ताव
काठमाडौं । नेकपा माओवादीकोे केन्द्रको केन्द्रीय कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ ।
काठमाडौंको प्रज्ञा भवन कमलादीमा आजदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकले केन्द्रीय समितिमा सदस्य थप गर्न विधान संशोधन प्रस्ताव पारित गरेको हो । माओवादी केन्द्रमा हाल ३८५ केन्द्रीय सदस्य छन् । केन्द्रीय कमिटीमा २४ जना महिला थप गरी त्यसको आकार ४०९ सदस्यीय पुर्याउन प्रचण्डले प्रस्ताव गरेका हुन् । माओवादीको आज (बुधवार) बिहान बसेको पदाधिकारी र स्थायी कमिटी बैठकले केन्द्रीय सदस्यको संख्या बढाउने निर्णय गरेको थियो ।
यसअघि २०७८ पुसमा सम्पन्न पार्टीको नवौं महाधिवेशनले केन्द्रीय कमिटीमा ३५ प्रतिशत महिला पुर्याउने निर्णय गरेको थियो । तर हालसम्म पनि उक्त निर्णय कार्यान्वयन भएको छैन ।
निर्वाचन आयोगमा दलका सदस्यहरूको विवरण बुझाइहाल्नुपर्ने भएकाले माओवादीलाई तत्काल केन्द्रीय कमिटीमा ३५ प्रतिशत महिला पुर्याउनुपर्ने बाध्यता छ । त्यसका लागि २४ जना महिला थप्ने प्रस्ताव अध्यक्ष प्रचण्डले सांगठनिक प्रतिवेदनमा गरेका हुन् । उहाँको प्रस्ताव कार्यान्वयन हुन केन्द्रीय कमिटीबाट अनुमोदन हुनुपर्नेछ ।
यस अघि माओवादीमा ३८५ केन्द्रीय सदस्य रहेका छन् । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संगठन सुदृढीकरणका लागि विधान सम्मेलन गर्ने सांगठनिक प्रस्ताव पेस गर्नुभएको छ ।