भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा रिट दर्ता
काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा रिट दर्ता भएको छ ।
पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँड, र शरणार्थी नेता टेकनाथ रिजालले जिल्ला अदालत काठमाडौंको आदेश बदर गरी सामान्य तारिखमा रिहा गर्न माग गर्दै उच्च अदालत पाटनमा रिट दर्ता गरेका हुन् ।
गत असार १ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलाशले १८ प्रतिवादी मध्ये १६ जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।
मुद्दाको विषयवस्तु, प्रमाणको विवेचना नगरी आफूहरुलाई थुनामा राखेको भन्दै उनीहरुले थुनामुक्त गर्ने आदेश माग गरेका छन् ।
काठमाडौं जिल्ला अदालतले मुद्दाका प्रतिवादी लक्षमी महर्जन र टंक मोक्तानलाई धरौटीमा छाड्ने र बाँकी प्रतिवादीलाई सुन्धारा कारागार चलान गर्ने आदेश गरेको थियो । जिल्ला अदालतको आदेशविरुद्ध निवेदन परेपछि उच्च अदालतले सम्बन्धित जिल्ला अदालतलाई ‘कैफियत प्रतिवेदन’ पठाउन आदेश दिन्छ ।
कैफियत प्रतिवेदन प्राप्त भएपछि उच्च अदालतले सुनुवाई गरी थप आदेश गर्नेछ ।