कोशी प्रदेश : सरकार गठनका लागि दाबी पेश गर्ने समय आज सकिँदै, एमालेले दाबी गर्ने तयारी

काठमाण्डौ । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्ने समय आज आज अपराह्न ५ बजे सकिँदैछ ।

सर्वोच्च अदालतले मुख्यमन्त्री पदमा उद्धव थापाको नियुक्ति बदर गरेर नयाँ सरकार गठन गर्न परमादेश दिएपछि प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनको आह्वान गर्नु भएको थियो । संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रमुख खापुङले सरकार गठनका लागि समय दिनु भएको हो ।

यसैबीच नेकपा एमाले कोशी प्रदेशका सांसद रोहित बहादुर कार्कीका अनुसार प्रदेश सरकारमा एमालेले दाबी पेश गर्ने तयारी रहेको बताउनुभएको छ ।

यस्तै सत्तारुढ गठबन्धनले सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर सरकारको नेतृत्वमा दाबी गर्ने तयारी गरेको छ ।

कोशी प्रदेशमा कांग्रेस नेतृत्वको गठबन्धनसँग सभामुख बाहेक ४६ सांसद छन् भने सत्तारुढ इतर रहेका नेकपा एमालेसँग ४० तथा राप्रपासँग ६ जना सांसद रहेका छन् । सरकार बनाउन ४७ मत आवश्यक पर्ने भएपछि कोशी सरकार गठनमा समस्या देखा परेको छ ।