मौसम खबर : देशका धेरै स्थानमा ठूलो पानी पर्ने

काठमाण्डौ ।  हाल देशमा मनुसनी वायुको प्रभाव जारी छ ।

मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदरभन्दा उत्तरतर्फ र पूर्वतिर सरदर स्थानबाट माथि सर्ने क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । देशका अन्य स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो ।

यस्तै आज राति भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

गएराति काठमाण्डौ उपत्यकासहित बाग्मती, कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी परेको थियो । सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा बाढीको जोखिम भएकाले मेलम्ची बजारलगायत तल्लो तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।