एसिया कप क्रिकेट : नेपालले पाकिस्तानसँग खेल्दै खेलको उद्घाटन गर्ने

काठमाण्डौ ।  एसिया कप क्रिकेट आजदेखि शुरु हुँदैछ ।

नेपालले एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको छ ।

आज (बुधबार) पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा नेपालले पाकिस्तानसँग खेल्दै खेलको उद्घाटन गर्ने छ । खेल दिउँसो सवा ३ बजे शुरु हुनेछ ।

नेपाली टोली रोहित पौडेलको कप्तानीमा मैदान उत्रनेछ । पाकिस्तानी टोलीको कप्तानी भने बाबर आजमले गर्नेछन् ।

नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्व वरियताको नम्बर एक टोली पाकिस्तानसँग खेल्न लागेको हो ।

एसिया कप पाकिस्तान र श्रीलङ्काले सञ्चालन गर्दैछन् । गत वैशाखमा सम्पन्न एसिसी प्रिमियर कपमा च्याम्पियन बनेपछि नेपाल एसिया कपका लागि छनोट भएको हो ।

एसिया कपमा १३ खेलमध्ये चार खेल पाकिस्तानमा हुनेछन् भने बाँकी ९ खेल श्रीलङ्कामा हुनेछन् ।

प्रतियोगितामा ६ राष्ट्रको सहभागिता रहनेछ । दुई समूहमा विभाजन गरिएको उक्त प्रतियोगिताको समूह ‘ए’ नेपाल, भारत र पाकिस्तान तथा समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान छन् ।

नेपालले यो प्रतियोगिता पहिलो पटक खेल्न लागेको हो । तर, पाकिस्तानले भने दुई पटक एसिया कपको उपाधि जितेको छ ।

पाकिस्तान आईसीसी एकदिवसीय वरियतामा शीर्ष स्थानमा छ । त्यस्तै भारत तेस्रो स्थानमा छ भने नेपाल वरियतामा १५ औँ स्थानमा छ ।
नेपालले समूह चरणको दोस्रो खेल भारतसँग भदौ १८ गते श्रीलङ्कामा खेल्नेछ ।

एसिया कप यही ३१ गतेसम्म पाकिस्तान र श्रीलंकामा हुनेछ । यो खेलपछि नेपाली टोली श्रीलंका जानेछ । भारत सुरक्षाको कारण देखाएर पाकिस्तान जान नमानेपछि पाकिस्तानमा ४ खेल र अरु ९ खेल श्रीलंकामा हुनेछन् ।

नेपालको सम्भावित प्लेइङ–११

कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर) भीम सार्की, रोहित कुमार पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलसन झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने, ललित राजवंशी ।
पाकिस्तानको नेपालसँग खेल्ने प्लेइङ–११

फखार जमान, इमाम उल हक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेटकिपर), अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ ।