प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि ६ महिनाबाट ५ वर्ष कायम
काठमाण्डौ । सरकारले गृह मन्त्रालयको प्रस्तावमा ‘उमेर, नाम र जात सच्याउने नियमहरू २०१७’ लाई समयसापेक्ष परिमार्जन गरी ९तेस्रो संशोधन० नियमहरू २०८० पारित गरेको छ ।
शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात नमिल्दा तथा त्यसलाई सच्याउने प्रावधान झन्झटिलो र सीमित अवधिको हुँदा खासगरी विद्यार्थीहरू ठूलो मर्कामा परेका थिए । अब प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि ६ महिनाको सट्टा पाँच वर्ष कायम गरिएको गृह मन्त्रालयले जनाएको छ ।
गृहमन्त्रीको सचिवालयका उपसचिव वेदनिधि खनालकाअनुसार सहज बनाउने र त्रुटि भएको सच्याउने समय थप हुनेगरी नियम पारित भएर आएको हो । शैक्षिक प्रमाणपत्र सच्याउने बाध्यतामा रहेका नयाँ वा पुरानो नागरिकताबाहेक सबैले एक वर्षभित्र राष्ट्रिय परीक्षा बोर्डमा दरखास्त दिन सक्नेछन् ।
कुनै विद्यार्थीले शैक्षिक प्रमाणपत्र लिइसकेपछि नेपाली नागरिकताको प्रमाणपत्र लिएको वा नागरिकतासम्बन्धी प्रचलित कानुनबमोजिम नेपाली नागरिकताको प्रमाणपत्रमा आफ्नो वा बाबुआमाको नाम वा थर वा नाम थर संशोधन गराएकामा त्यसबमोजिम एसएलसी, एसईई वा कक्षा १२ को प्रमाणपत्रमा आफ्नो वा बाबुआमाको नाम वा थर वा नाम थर सच्याउन चाहेमा एक पटकका लागि नेपाली नागरिकताको प्रमाणपत्र लिएको वा नेपाली नागरिकताको प्रमाणपत्रमा विवरण सच्याएको एक वर्षभित्र दरखास्त दिन सक्नेछ ।
त्यसैगरी नागरिकता सच्याएको एक वर्षभित्र पनि शैक्षिक प्रमाणपत्र सच्याउन दरखास्त दिन पाउनेछ । गृह मन्त्रालयले मन्त्रिपरिषद् बैठकले त्यो नियम पारित गरेको जनाएको छ ।