आज विश्व बाघ दिवस : बाघको संख्या बढेसँगै चुनौती पनि थपियो

काठमाण्डौ । आज विश्व बाघ दिवस । हरेक वर्ष जुलाई २९ मा पाटे बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले ‘विश्व बाघ दिवस’ मनाइन्छ । विश्वमा झैँ नेपालमा पनि यो दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस वर्षको विश्व बाघ दिवसको नारा ‘मानव–बाघ सहअस्तित्व’ रहेको छ ।  नेपालले सन्र २०१० देखि बाघ दिवस मनाउँदै राष्ट्रिय स्तरमा बाघ गणनासमेत गर्दै आएको छ ।

विश्व बाघ दिवसका अवसरमा बर्दिया राष्ट्रिय निकुञ्जसहित देशभर नै बाघको बासस्थानको संरक्षण, बाघको संख्यामा आएको वृद्धि र ह्रासबारे जानकारीका साथै बाघ संरक्षणमा भएका प्रयासबारे चर्चा गरी विभिन्न कार्यक्रम गरिन्छ । दिवसकै अवसरमा बाघसम्बन्धी दश वर्षे (सन् २०२३–३२) कार्ययोजना सार्वजनिक गर्न लागिएको विभागका उपमहानिर्देशक अजय कार्कीले जानकारी दिनुभयो । कार्ययोजनामा बाघको सङ्ख्या वृद्धि भएसँगै थपिएको व्यवस्थापनको चुनौती र बढ्दो मानव–बाघ द्वन्द्वलाई व्यवस्थापन गर्नेसम्बन्धी मुख्य विषय रहेको उहाँले बताउनुभयो ।

वन तथा वातावरण मन्त्रालयले दिवसको मुख्य कार्यक्रम अन्तर्गत ललितपुरको जावलाखेलस्थित चिडियाखानामा विशेष कार्यक्रम मनाउँदै छ । यसैगरी नेपाल टेलिकमका टेलिफोन सेवामा दिवसका दिन बाघ संरक्षणका लागि सचेतनासम्बन्धी ‘रिङटोन’ बज्ने व्यवस्था गरिएको मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

पाटे बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले विश्वमा पहिलो पटक सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा अन्तर्राष्ट्रिय बाघ मञ्च आयोजित भएको हो । उक्त मञ्चले नै हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाउने घोषणा गरेको हो ।

नेपाललगायत भारत, चीन, भुटान, रुस, बङ्गलादेश, भियतनाम, म्यानमार, मलेसिया, इन्डोनेसिया, थाइल्यान्ड र लाओसमा पाटे बाघ पाइन्छन् । यी मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा सेन्टपिटर्सवर्गमा भएको सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो ।

उक्त सम्मेलनमा नेपालले सन् २००९ को गणनाअनुसार नेपालमा रहेका तत्कालीन बाघको सङ्ख्या एक सय २१ लाई बढाएर दोब्बर पुर्‍याउने प्रतिबद्धता जनाएको थियो । सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा हाल बाघको सङ्ख्या तीन सय ५५ पुगेको छ । नेपालले उक्त सम्मेलनमा बाघको सङ्ख्या दोब्बर बनाउन गरेको प्रतिबद्धताभन्दा बढी सङ्ख्याले बाघ बढाउन सफल भएको छ ।  उक्त गणनाअनुसार सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ वटा र बर्दिया राष्ट्रिय निकुञ्जमा एक सय २५ बाघ थिए । साथै बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ पाइएको विभागको तथ्याङ्क छ ।

नेपालमा बाघको सङ्ख्या सन् १९९५ मा ९८, सन् २००० मा एक सय नौ, सन् २००५ मा एक सय २६, सन् २००९ मा एक सय २१, सन् २०१३ मा एक सय ९८ रहेको विभागको तथ्याङ्क छ । सन् २०१८ मा गरिएको गणनाअनुसार बाघको सङ्ख्या बढेर दुई सय ३५ पुगेको थियो ।

सन् २०१६ को तथ्याङ्कअनुसार विश्वमा सबैभन्दा बढी बाघ भारतमा दुई हजार दुई सय २६ र सबैभन्दा कम लाओसमा दुई वटा बाघ थिए ।

तर, नेपालमा बाघको संख्या बढेसँगै चुनौती पनि थपिएको छ । १२ वर्षको अवधिमा बाघको आक्रमणबाट ८० जनाले ज्यान गुमाएका छन् । विश्व वन्यजन्तुकोष नेपालका राष्ट्रिय प्रतिनिधि डा.घनश्याम गुरुङका अनुसार मानव–वन्यजन्तु द्वन्द्व रोकथामका लागि जङ्गल वरपरका समुदायलाई जङ्गल नपस्ने गरी जीविकोपार्जनको विकल्प दिन, स्थानीयको वन्यजन्तुप्रति गर्ने आनीबानीमा परिवर्तन गर्न, वन्यजन्तुको वासस्थानको राम्रो व्यवस्थापन गर्न अति आवश्यक छ ।

उहाँले स्थानीयहरुको जीविकोपार्जनका लागि जङ्गल जान बाध्य नहुने अवस्था बनाउन सरोकारवाला सबै लाग्नुपर्नेमा जोड दिनुभयो । यसो गरे वन्यजन्तु र मानवबीचको द्वन्द निर्मूल गर्न सकिने उहाँको भनाइ छ ।

नेपालमा भित्रिने पर्यटकमध्ये ६० प्रतिशतभन्दा धेरैले प्राकृतिक सुन्दरता, बाघ, गैँडालगायत वन्यजन्तुको अवलोकन गर्न संरक्षण क्षेत्र घुम्ने गरेको पाइन्छ ।