दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीलाई सुगम क्षेत्रमा सरुवाको निवेदन दिन मन्त्रालयको आह्वान

काठमाण्डौ ।  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीलाई सरुवा गर्न  निवेदन मागेको छ ।
सरुवा भई आउन चाहेको सुगम क्षेत्रका कार्यालय रोजेर दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीलाई  निवेदन दिन मन्त्रालयले आह्वान गरेको हो ।

भौगोलिक क्षेत्रको अवधि पूरा गरेका कर्मचारीलाई अर्को भौगोलिक क्षेत्रमा सरुवा गर्ने उद्देश्यले मन्त्रालयले कर्मचारीबाट निवेदन मागेको मन्त्रालयले जनाएको छ ।
केही दिनअघि मन्त्रालयले गठन गरेको सरुवा व्यवस्थापन कार्यदलले तीन वर्ष अवधि पूरा भएका कर्मचारीलाई सरुवा गर्न सरकारलाई सिफारिस गरेको थियो ।

निजामती सेवा ऐनको व्यवस्थाबमोजिम अवधि पुगेका र नियमावलीले तोकेको ’क’ देखि ’घ’ वर्गको भौगोलिक क्षेत्रमा कार्यरत कर्मचारीलाई एक क्षेत्रबाट अर्कोमा सरुवा गर्ने गरी मन्त्रालयले सूचना निकालेको छ ।

मन्त्रालयले सरुवा व्यवस्थापनका लागि हरेक निजामती कर्मचारीले आफ्नो नियुक्ति, पदस्थापन, सरुवा, समायोजन, काज, कामकाज, रमाना, हाजिर भएको जानकारीलगायत सम्पूर्ण विवरण सात दिनभित्र अनिवार्य अद्यावधिक गर्नसमेत निर्देशन दिएको छ ।

साथै कर्मचारी सूचना प्रणाली (पीआईएस) अद्यावधिक गरी नौ दिनभित्र मन्त्रालयले तोकेको ढाँचाबमोजिम निवेदन दिन सूचनामा भनिएको छ ।