गृहमन्त्री अनुसन्धानको दायरामा आउनुपर्ने एमालेको माग

काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सय किलो सुन तस्करी उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नता बिना हुन नसक्ने भन्दै गृहमन्त्री अनुसन्धानको दायरामा आउनुपर्ने माग राखेको छ ।

 

आज (बिहीबार) बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै नेकपा एमाले राष्ट्रिय सभाका दलका नेता देवेन्द्र दाहालले गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनेकुरा नभएको भन्दै अब गृहमन्त्री पनि अनुसन्धानको घेरामा आउनुपर्ने बताउनुभयो ।

नेता दाहालले गृहमन्त्री, अर्थमन्त्रीलाई जानकारी नभइ यति ठूलो परिणामा सुन तस्करी हुनै नसक्ने बताउनुभयो । उहाँले सिंगो विमानस्थलको सुरक्षा व्यवस्था कस्तो छ ? त्यसको जवाफ कसले दिने ? भन्दै प्रश्न समेत गर्नुभयो ।

उहाँले सुरक्षा व्यवस्थामा खटिएका कर्मचारी, भन्सार कर्मचारी र गृहमन्त्री एवं अर्थमन्त्री अनुसन्धानको दायरामा आउनुपर्ने बताउनुभयो । उहाँले सुन तस्करी काण्डको जरैदेखि छानबिन गर्न उच्चस्तरीय संसदीय छानबिन समिति बनाउनुपर्ने र समितिमा राष्ट्रिय सभा सदस्यहरु पनि रहनुपर्ने माग गर्नुभयो ।

दलका नेता दाहालले सुन तस्करीमा उच्च तहको नेतृत्व सामेल भएपनि अनुसन्धानको दायरामा ल्याउन नसकेको बताउनुभयो ।